Home आर्थिक विजनेश लगानी प्रवर्द्धनका लागि उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच सम्झौता

लगानी प्रवर्द्धनका लागि उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच सम्झौता

0

मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवर्द्धनका लागि उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र लगानी बोर्डबीच सम्झौता भएको छ । अर्थमन्त्री जनार्दन शर्माको उपस्थतिमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले सम्झाैतामा हस्ताक्षर गरे ।

सहमतिअनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सहायता कक्ष स्थापना गरिने छ । सहायता कक्षको संचालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग हुनेछ । महासंघले राष्ट्रको आवश्यकता अनुसार लगानी परियोजनाको पहिचान, अन्तर्राष्ट्रियरुपमा आफ्नो माध्यम मार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सहयोग गर्ने छ ।

त्यसैगरी लगानी प्रवर्द्धनको दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवम् सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् भने एफडीआई तथा लगानी प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रदर्शनी, गोष्ठी, कार्यशाला, तालिम र यस्तै प्रकारका अन्य गतिविधिको आयोजनामा महासंघले बोर्डलाई प्रत्यक्ष सहयोग पुुऱ्याउने छ ।

महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिले लगानी प्रवर्द्धनका लागि तयार गर्ने सबै दस्तावेजहरुमा बोर्डले सहयोग गर्ने छ । त्यसैगरी दुवै संस्थाले लगानी सम्बन्धी तथ्यांक, प्रतिवेदन, संयुक्त रुपमा तयार पारिएका प्रतिवेदनहरु, वाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसरहरु र सार्वजनिक निजी साझेदारीमा लगानी सम्बन्धी नीति पैरवी लगायतमा सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन् । महासंघले लगानीका अवसर सम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सबै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन् ।

सो कार्यक्रममा बोर्डका उपाध्यक्ष तथा अर्थमन्त्री शर्माले यो सहमतिबाट सिंगो राष्ट्र नै लाभान्वित हुने बताए । उनले लगानी गर्न आउनेलाई प्रतिफलको पनि स्पष्ट खाका दिन सक्नुपर्ने सुझाव दिए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले मुलुकभित्र आन्तरिक एवम् वाह्य लगानी प्रवर्द्धन नै सम्झौताको मुख्य लक्ष्य भएको बताए । महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघको सचिवालयमा बोर्डको समेत संलग्नता र सहयोगमा खुल्ने सहायता कक्षले ठोस परिणाम दिने विश्वास जनाए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version