१२ चैत , वीरगंज ।
वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले जनकपुरधामको विकासका लागि गर्न सकिने योजनाबारे सरोकारवालासँग छलफल अघि बढाएको छ ।
करिब चार वर्षअघि जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक अर्ब रुपैयाँको आर्थिक सहयोगबाट जनकपुरधामको समग्र विकासका लागि गर्न सकिने योजनाबारे दूतावासले सरोकारवालासँग छलफल सुरु गरेको हो ।
जनकपुरधाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वाणिज्यदूत नितेशकुमारले भारत सरकारले जनकपुरधामको विकासका लागि आर्थिक सहयोगको प्याकेज ल्याएको जानकारी दिए । “प्रधानमन्त्री मोदीले घोषणा गर्नुभएको आर्थिक सहयोगको घोषणा अनुसारको रकम आउँछ, ढुक्क हुनुस्”, उनले भने ।
उनले थपे, “त्यो आर्थिक सहयोग कुन कुन योजना बनाएर, कसरी काम गर्ने भन्ने विषयमा मधेश प्रदेशका मुख्यमन्त्री, जनकपुरधाम नगरपालिकाका प्रमुख, प्रदेशका नीति योजना आयोगका पदाधिकारीलगायत सरोकारवालासँग छलफल गरिरहेका छौँ । उहाँहरुको सरसल्लाह र योजनाअनुसार नै हामी सहयोग गछौँ ।”
भारतीय सरकारको सहयोगमा सञ्चालित योजनाको अनुगमन गरी त्यसलाई समयमै सम्पन्न गर्न पहल गरिने वाणिज्यदूत नितेशकुमारको भनाइ थियो । मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा बागमती प्रदेशको चितवन र मकवानपुर गरी आठ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर विगत एक वर्षभित्र चितवनको गुञ्जमान सिंह अस्पताल, राष्ट्रिय प्राथमिक विद्यायल, मकवानपुरको बागमती निम्न मावि, सर्लाहीको बालगोविन्द जनता मावि र जनता मावि सर्लाहीको भवन निर्माण गरिएको उनले जानकारी दिए ।
केही समयपछि नेपाली युवा पत्रकारलाई परिचयात्मक भ्रमणका लागि भारत पठाउने योजना बनाइएको जानकारी दिँदै वाणिज्यदूत नितेशकुमारले नेपालबाट सांस्कृतिक टोली भारत पठाउनेसमेत योजना बनाएको सुनाए ।