चैत १२, जनकपुरधाम ।
मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका झण्डै तीन दर्जन योजनाको फाइल गायब भएको खुलासा भएको छ । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सम्झौता भएर कामसम्पन्न भइसकेको योजनाको फाइल गायब भएको खुलेको हो ।
बिहीबार मुख्यमन्त्री कार्यालयका पूर्व सचिव यमप्रसाद भुषाललाई निर्माण व्यवसायीहरुले मधेश भवन भित्रै घेराबन्दी गरेपछि यस्तो रहस्य बाहिरएको हो । दुई महिना अघि मुख्यमन्त्री कार्यालयबाट सरुवा भएर सचिव भुषाल रावाना लिएर गइसकेका थिए । कुनै कामले दुई महिनापछि मधेश भवनमा आएपछि उनलाई व्यवसायीहरुले बिहीबार ८ घण्टा घेराबन्दी गरेको हो ।
बिहीबार बिहानै ९ बजेदेखि अपराहन्न ५ बजेसम्म मधेश भवन भित्रको पहिला उनी बस्ने क्वाटरमा व्यवसायीहरु घेराबन्दी गरेका थिए । उनलाई ८ घण्टासम्म घेराबन्दी गरेको व्यवसायी अरुण यादवले बताए ।
हराएको फाइल ल्याउनु पर्ने, भुक्तानी गराउनु पर्ने अडान लिएर व्यवसायीहरु घेरेका थिए । व्यवसायीले घेराबन्दी गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनलाई सुरक्षा दिएको थियो ।
भुषाललाई त्यहाँबाट सकुशल बाहिर निकालेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेले जानकारी दिए ।
सचिव भुषालले सोमबार फाइल कार्यालयलाई बुझाउने व्यवसायीसंग प्रतिबद्धता गरेपछि उनलाई निस्किन दिइएको व्यवसायी सुशील सिंहले बताए ।
२० प्रतिशत कमिसन नदिँदा सचिव भुषाल फाइल लिएर भागेको आरोप छ ।
सचिव भुषाल मुख्यमन्त्री कार्यालयमा छँदा त्यहाँ उनी बेटीपढाउ बेटी बचाउ, र स्वच्छता अभियान कार्यक्रमका मुख्य हर्ताकर्ता थिए । उनी कार्यालयमा हुँदा २० प्रतिशत पहिले नै कमिसन नदिएपछि भुक्तानी नगरेको एसके मल्टि सप्लायर्सका सञ्चालक दशरथ साहले सुनाए ।
सरुवा पश्चात सचिव भुषालले योजनाका फाइलहरु नै लिएर भागेको उनको आरोप छ ।
यता मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव कृष्ण बहादुर राउतले फाइल गायब भएको विषयमा केहि थाहा नभएको बताए । ,मलाई फाइल गायब भएको विषयमा थाहा छैन । कार्यालयमै बुझ्नु पर्छ ।, उनले भने ।
‘म एउटा कार्यक्रममा थिएँ । सचिव भुषाललाई घेराबन्दी गरेको विषयमा मलाई जानकारी छैन । फाइल हराएको विषयमा पनि थाहा भएन’ उनले भने ।
सचिव भुषाल मुख्यमन्त्री कार्यालयमा छँदा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत साईकल खरिद सम्बन्धि फाइल र मुख्यमन्त्री स्वच्छता सम्बन्धी केहि फाइल लगेको थियो ।
स्वच्छता अभियानको विषयमा पनि अख्तियारले पटक पटक फाइल पठाउन मुख्यमन्त्री कार्यालयलाई पत्राचार गर्ने गरेको छ ।