Home आर्थिक विजनेश ठेकेदारका कारण पूर्वाधारका काममा ढिलाई : ऊर्जामन्त्री भुसाल

ठेकेदारका कारण पूर्वाधारका काममा ढिलाई : ऊर्जामन्त्री भुसाल

0

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ठेकेदारका कारण पूर्वाधारका काममा ढिलाई हुने गरेको बताएकी छन् । ललितपुर महानगरपालिका वडा नं २३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै पूर्वाधार विकास छिटो गर्नका लागि जनताले पनि खबरदारी गरिरहनुपर्ने बताइन् ।

उनले भनिन् ‘जनप्रतिनिधिले आफ्ना जनताका लागि योजना पार्ने हो, बजेट छुट्याउने हो, त्यसपछि खरिद प्रक्रियामा जान्छ, खरिद प्रक्रियामा गइसकेपछि स्थानीय उपभोक्ताले विशेष चासो राख्नुपर्छ ।’ जनताको आवश्यकताको आधारमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले महत्वपूर्ण सम्पदालाई संरक्षण गर्दै विकास गर्ने सोचका आधारमा अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पुर्‍याएको उनको दावी छ । उनले भनिन् ‘पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घर आँगनमा सिंहदरबार सार्थक भएको छ ।’

स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही तवरले प्रयोग गरेर जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिइन् । उनले भनिन् ‘कानुन पनि नभएको अवस्थामा जनताको आकांक्षालाई सम्बोधन गर्न गाह्रो थियो, अनुभव पनि थिएन, यद्यपी पाँच वर्षमा स्थानीय सरकारले धेरै काम गरेका छन् ।’

आधुनिक प्रविधिको अधिकतम प्रयोग गरेर स्थानीय सरकारले जनताको सेवा गर्नुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गमैत्री आधुनिक भवन बनेसँगै अबका दिनमा जनताले गुणस्तरीय सेवा पाउनुपर्ने बताए । उनले महानगरपालिकाले निरन्तर जनताका कामलाई विशेष प्राथमिकता दिने विश्वास समेत दिलाए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version