११ चैत ,काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी पूर्वतालिकाभन्दा २ घण्टाअगावै काठमाडौं आउने भएका छन् । शुक्रबार साँझ ५ बजेका लागि तय भएको विदेशमन्त्री यीसहितको उच्चस्तरीय भ्रमण टोली दिउँसो ३ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका तय भएको हो । विदेशमन्त्रीको स्वागतमा विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्कासहितको टोली जाने छ ।
उनको सुरक्षामा नेपाल प्रहरीको विशेष टोली तैनाथ गरिएको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले चिनियाँ विदेशमन्त्री यीको सुरक्षामा विशेष टोली तैनाथ गर्न निर्देशन दिएको थियो ।
त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाटको कार्यक्रम रहेको छ । त्यही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । त्यसपछि उनी सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानेछन् ।
विदेशमन्त्री यीले भ्रमणकै दौरानमा काठमाडौंबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा विमानस्थल चिनियाँ सरकारको ऋण तथा अनुदान सहयोगमा निर्माण सम्पन्न भएको हो ।
यसबाहेक अन्य कुनै पनि अधिकारी तथा राजनीतिक भेटघाटको कार्यक्रम तय भएको छैन । दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर वाङ नेपाल आउन लागेका हुन् ।