रासस
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन् । धनुषाको जनकपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “गठबन्धनमा रहेका दलबीच विन–विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।”
“गठबन्धनको अवस्था के हुन्छ भन्ने चिन्ता गर्ने पार्टी हाम्रो होइन्”, अध्यक्ष नेपालले भने”, हरेक पार्टी आ–आफ्नो शक्ति र सामर्थ्यका आधारमा चुनाव लड्न तयार छ, हुनु पनि पर्छ ।” अध्यक्ष नेपालले आवश्यकता प¥यो भन्ने ‘विन विन’ का आधारमा सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गरेर जान तयार रहेको बताए ।
अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा कुनै खासै परिवर्तन नहुने बताए । आफ्नो पार्टीप्रति जनताको दिनदिनै आकर्षण बढ्दै गएकाले आगामी स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा जित्ने बताउँदै उनले नेता–कार्यकर्तामा देखिएको उत्साहले पार्टीको भविष्य उज्जवल रहेको उल्लेख गरे ।