नेकपा (एमाले) ले ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको नेता शेरबहादुर तामाङले जानकारी दिए ।
पोखरेल नेतृत्वको घोषणापत्र तयारी समितिमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली रहेका छन् ।
स्थानीय तहमा तालमेल गर्ने अधिकार स्थानीय तहहरूलाई नै दिने तर केन्द्रबाट तालमेल भने नगर्ने निर्णयसमेत बैठकले गरेको छ । स्थानीय तह निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ ।
तामाङका अनुसार स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ वैशाख ९ गते पार्टीले केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफ्नो आवश्यकताअनुसार प्रतिबद्धतापत्र जारी गरिने बताए । अध्यक्ष केपी शर्मा ओलीले चैत १६ गते ७५३ वटै पालिकाका पार्टी प्रतिनिधिसँग भर्चुअल सम्वाद गर्ने जानकारी पनि उनले दिए ।