९ चैत, काठमाडौं । लोक सेवा आयोगले नेपाल प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा समितिको सचिवालयसँग लिखित जवाफ मागेको छ ।
सिफारिसमा नपरेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले गत सोमबार उजुरी दिएपछि लोक सेवा आयोगले बढुवा सिफारिस समितिको सचिवालयसँग त्यसको प्रतिक्रिया मागेको हो ।
बढुवाबारे उजुरी सुन्ने समितिको अध्यक्ष लोक सेवा आयोगको अध्यक्ष रहने व्यवस्था छ । यो समितिमा मुख्य सचिव र कानुन सचिव रहन्छन् । त्यसको सचिवालय लोक सेवा आयोगमा रहन्छ ।
बढुवा गर्ने निर्णय भएको सात दिनभित्र उजुरी दिनसकिने व्यवस्था प्रहरी नियमावलीमा छ । उजुरी प्राप्त भएपछि उजुरी सुन्ने म्याद सकिएको भोलिपल्टै बढुवा समितिमा पत्र पठाउनुपर्छ । उक्त पत्र प्राप्त भएको तीन दिनभित्र सम्बन्धित बढुवा समितिले उजुरी सुन्ने समितिमा आवश्यक कागजातसहित लेखी पठाउनुपर्छ । उजुरीमा उजुरी गर्ने म्याद समाप्त भएको मितिले पन्ध्र दिनभित्र टुंगो लगाइ सक्नुपर्छ ।
प्रहरी नियमावलीमा एआईजी पदका लागि बढुवा सिफारिस समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव र सदस्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रहने व्यवस्था छ । यो समितिको सदस्य सचिव प्रहरी महानिरीक्षक हुने व्यवस्था छ ।