७ चैत, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको गतिविधि एमालेविरुद्ध भएको आरोप लगाएका छन् ।
सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध भएको बताएका हुन् ।
निर्वाचन आयोगले आचारसंहितामा मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । ओलीले स्थानीय तहमा नेकपा एमालेका जनप्रतिनिधिलाई अप्ठेरो पार्न आचारसंहितामा यो व्यवस्था राखिएको टिप्पणी गरे । प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको सरकार भएकाले यो व्यवस्था नराखिएको तर स्थानीय तहमा एमालेको वर्चश्व भएकाले यो व्यवस्था राखिएको ओलीले आरोप लगाए ।
निर्वाचन आयोगले आचारसंहितामा नयाँ व्यवस्था गर्दा राजनीतिक दलहरुसँग परामर्श नगरेको उनले बताए ।
निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वमा दल दर्ता गर्न हतारो गरेर आफ्नो पार्टी विभाजन गरेको पनि ओलीले आरोप लगाए । त्यस्तै मतपेटिकाको रङ हरियो बनाउनु पनि एमालेविरुद्ध भएको ओलीले बताए । ‘अहिलेसम्म हामीले रङको कारण चिनेनौं, कन्फ्युजन भयो भन्ने कुरा आएको छैन । त्यसैले रङ बदलेर हरियो किन राख्नुपर्यो ?’
ओलीले प्रश्न गरे, ‘सूर्य कसरी हरियो हुन्छ ? कि त सिम्बोलिक ब्ल्याक एण्ड हृवाइटमा जानुपर्यो । यो स्वेच्छाचारिता होइन भने के हो ?’