एक महिनादेखि ‘ड्रायरन’ गरिरहे जनकपुर–जयनगर रेल अब महिनाको १५ दिन मात्र चल्ने भएको छ । गत फागुन १ गतेदेखि दिनमा एकपटक यात्रुविना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चल्दै आएको छ । सञ्चालन तयारीको लागि (ड्रायरन) सुरु गरिएको थियो ।
तर उदघाटनको मिति अझै तय हुन नसकेकाले अब महिनाको १५ दिन (ड्रायरन) गरिने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए ।
‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्,’ उनले भने,’ भाडादर पनि निर्धारण भइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको छैन ।
खर्च थेक्न नसकेर विभागले एक दिन बिराएर महिनामा १५ दिन रेल चलाउन लागिएको हो । विदाको दिन रेल चल्ने गरेको छैन् ।विभागले फागुन दोस्रो साता नै दुवै देशको प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी गरेको थियो । तर कानुन अभावसँगै नेपालको राजनीतिक उतारचढाव र भारतको चुनावको कारण उद्घाटनमा ढिलाइ भएको उनको तर्क छ ।
जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । ०७७ असोज २ गते भारतीय कोकंण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगीले करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् ।
जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रति यात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ ।