काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरेको एक वर्ष पुरा भएको छ ।
खोप अभियान एक वर्ष पुरा भएको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सबैको सक्रिय सहभागिताले दोस्रो तथा तेस्रो लहरमा हुनसक्ने ठुलो जोखिमलाई कम गर्न सकिएको बताउनुहुँदै उहाँले खोप अभियानमा संलग्न सबैलाई धन्यवाद दिनुभयो ।
मन्त्री खतिवडाले अठार वर्षमाथिका लक्षित जनसङ्ख्याको ७० प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाएको र ८३ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको जानकारी दिनुभयो ।
यसैगरी, १२ वर्षदेखि १८ वर्षसम्मका १८ लाख ७२ हजार ६ सय ७० बालबालिकाले पहिलो मात्रा र ३ लाख ५८ हजार २ सय ९८ जनाले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्री खतिवडाले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।
अग्रपङ्क्तिमा रहेर काम गर्ने झन्डै तीन लाखलाई अतिरिक्त खोप (बुस्टर डोज) लगाइसकिएको समेत विज्ञप्तिमा उल्लेख छ ।
एक वर्षमा नेपालमा कोभिशिल्ड, अस्ट्राजेनिका, भेरोसेल, जोनसोन एण्ड जोनसोन, मोर्डना र फाइजरका ४ करोड २० लाख ४९ हजार ६ सय ४० मात्रा खोप विभिन्न विधिबाट नेपालमा प्राप्त भएको समेत मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
गत वर्ष आजकै दिनबाट सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूका लागि खोप अभियान सञ्चालन गरेको थियो ।