Home बिशेष खबर कोभिड: ओमिक्रोन सङ्क्रमण कति दिनसम्म अरूलाई सर्न सक्छ?

कोभिड: ओमिक्रोन सङ्क्रमण कति दिनसम्म अरूलाई सर्न सक्छ?

0

BBC, खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्ने र एक पटक कोभिड भइसकेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण गराउन सक्ने क्षमता भएको ओमिक्रोन अन्य भेरिअन्टहरूभन्दा सङ्क्रामक छ।

सङ्क्रमणको सङ्ख्यामा वृद्धि भए पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमितहरू अस्पताल भर्ना हुने सम्भावना भने नाटकीय रूपमा कम देखिएको छ।

दुई मात्राको खोप लगाएका र बूस्टर मात्रा खोप लगाएका व्यक्तिहरूमा यो सङ्क्रमण भए पनि अस्पताल भर्ना हुने सम्भावना कम रहेको प्रमाण छन्।

यसले अमेरिका र युकेसहित धेरै देशहरूलाई सङ्क्रमितहरू एकान्तवास बस्ने समय छोट्याएर पाँच दिन राख्न प्रेरित गरेको छ।

यसले मानिसहरू सङ्क्रमित भएपछि काममा वा विद्यालयमा बिदा बस्दा हुने समस्या कम गर्ने बताइएको छ।

तर विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ओमिक्रोनसँग निर्धक्क नहुन चेतावनी दिएको छ। उसले खोप नलगाएका मानिसहरूमा यो भेरिअन्ट अझै पनि घातक रहेको बताएको छ।

कति दिनमा लक्षण देखिन्छ?

ओमिक्रोन भेरिअन्टबारे कमै मात्र अध्ययन भए पनि अनुसन्धानले यो भेरिअन्ट अन्यको तुलनामा कमजोर मात्रै देखाएको छैन, भाइरस सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ।

यसअघिका कोरोनाभाइरसका भेरिअन्टहरूबाट सङ्क्रमण सरिसकेपछि लक्षण देखा पर्न पाँचदेखि छ दिनसम्म लाग्ने गरेको थियो।

डेल्टा भेरिअन्टको हकमा चार दिनमा लक्षण देखा पर्थ्यो।

ओमिक्रोनबाट सङ्क्रमण भएको अवस्था दुईदेखि तीन दिनभित्र लक्षणहरू देखा पर्ने गरेका छन्।

गत डिसेम्बरमा अमेरिकामा प्रकाशित प्रारम्भिक अध्ययनमा ओमिक्रोनको औसत सङ्क्रमण अवधि तीन दिन देखिएको थियो।

सङ्क्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिमा एक दिनमै शरीरमा भाइरसहरू बढ्न सुरु हुने स्पेनको इन्टर्न्याश्नल युनिभर्सिटी अफ ला रियोजाका सङ्क्रामक रोग विशेषज्ञ डा. भिसेन्ट सोरियानोले बताए।

दुई दिनभित्र गरिएको परीक्षणमा भाइरस देखिन थाल्छ।

कति दिनसम्म अरूलाई सर्छ?

वैज्ञानिकहरूले सङ्क्रमित व्यक्तिहरूले सङ्क्रमणका सुरुवाती दिनहरूमा बढी सङ्क्रमण फैलाउन सक्ने पत्ता लगाइसकेका छन्।

ओमिक्रोनको हकमा लक्षण देखिनुभन्दा एक वा दुई दिनअघि र लक्षण देखिएको दुईदेखि तीन दिनसम्म यो भाइरस अरूलाई सर्न सक्ने ठानिएको छ।

डा सोरियानो भन्छन्, “यो भाइरस पाँच दिनसम्म मात्रै सङ्क्रामक हुन्छ। यसको अर्थ परीक्षणमा पुष्टि भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ।”

उनका अनुसार ओमिक्रोन शरीरमा सात दिनसम्म रहने देखिएको छ। यसको अर्थ लक्षण देखिएको सात दिनपछि लक्षण छैन भने अधिकांश यस्ता व्यक्तिहरूले अरूलाई सङ्क्रमण फैलाउन सक्दैनन्।

“तर यो चिकित्सा हो, गणित होइन, त्यसैले यसमा त्यसैले केही तलमाथि हुनसक्छ,” डा. सोरियानो भन्छन्।

“केही मानिसहरूमा तीनदेखि चार दिन मात्रै र केहीमा सात दिनसम्म भाइरस रहन सक्छ। ओमिक्रोनमा के चाहिँ निश्चित हो भने यसको सङ्क्रमण यसअघिका भेरिअन्टहरूभन्दा निकै तीव्र फैलिन्छ।”

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version