जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले किसान आन्दोलन अन्तर्गत पुस ३० गते सबै जिल्लाको सदरमुकाममा महारैली गर्ने घोषणा गरेका छन् ।
फेसबुकमा रहेको आफ्नो सचिवालय पेजमार्फत डा. राउतले यस्तो घोषणा गरेका हुन् । किसानलाई मलखाद सहज रुपले समयमा दिनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै मागको अर्थ लाग्ने रचनात्मक जुलुस निकाल्ने उनले बताएका छन् ।
घोषणा गरिएको कार्यक्रममा उच्चस्तरीय समिति गठन गर्न भैंसी जुलुस निकाल्ने उल्लेख छ । यसको अर्थ सत्ताधारीहरू केही मतलब नगर्ने भैंसी भयो भन्ने रहेको अध्यक्ष डा. राउतको भनाई छ ।
यस्तै किसान कार्डको व्यवस्था गर्न भोट कार्ड र प्लाकार्ड देखाएर प्रदर्शन गर्ने, किसानको पेन्सनका लागि गोरू र्याली, गोरूगाडा र्याली, हलो र्याली र कोदालो र्याली गर्ने जस्ता कार्यक्रम तय गरिएको छ ।
अध्यक्ष डा. राउतले आन्दोलन सफल पार्न सम्बन्धित निकायमा ज्ञापनपत्र दिने, प्रचार प्रसार गर्ने र युवा दस्ता बनाउने कार्यहरू सुचारू राख्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।