काठमाडौँ — चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार औपचारिक रुपमा बन्दरगाह सञ्चालनको उद्घाटन गरे । वीरगन्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको आरम्भ गरिएको छ । अब व्यवसायीले आयात गरेका वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने भएका छन् ।
सीमास्थित भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी अब सिधै चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न सकिनेछ । सीमाबाट बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिमको सडक मार्गबाट सामान लैजान आन्तरिक परिवहनको सुविधा दिइनेछ । सुविधा लिन चाहने पैठारीकर्ताले प्रणालीबाटै फारम मुद्रण गरी सीमास्थित भन्सार कार्यालयका अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।
